साउदी अरबमा हुथीले गरेको आक्रमणमा एक नेपालीको मृत्यु
साउदी अरबमा पछिल्लो समय भएका आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घटनामा एक नेपालीको मृत्यु भएको र तीन जना घाइते भएको जनाएको हो ।
घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत नोभेम्बर २४ मा साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एक टावरमा भएको आक्रमणमा ११ जना घाइते भएका थिए ।
घाइतेमध्ये तीन जना नेपाली नागरिकसमेत रहेको बताइएको छ । साउदी अरबको नागरिक सुरक्षा निकायले उक्त आक्रमणमा यमनको हुथी समूह जिम्मेवार रहेको जनाएको थियो ।
मन्त्रालयले मृतक नेपालीका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।यसअघि गत अक्टोबर २१ मा साउदी अरबस्थित साउदी अरामकोको शेबाह तेल क्षेत्रमा अवरोध गरिएको ड्रोनको भग्नावशेष खस्दा नेपाली श्रमिक भरत महतोको मृत्यु भएको थियो ।
साउदी अरबमा भएको पछिल्लो घटनामा मृत्यु भएका नेपालीको परिचय तथा घटनाको मिति र स्थान भने मन्त्रालयले खुलाएको छैन । उनको मृत्यु नोभेम्बर २४ को आक्रमणसँग सम्बन्धित हो वा होइन भन्ने पनि स्पष्ट भएको छैन ।
मन्त्रालयले नागरिक र सार्वजनिक पूर्वाधारलाई कुनै पनि अवस्थामा निशाना बनाउन नहुने नेपालको धारणा दोहोर्याएको छ । साथै, सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन र विवाद तथा द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न आग्रह गरेको छ ।





प्रतिकृया दिनुहोस