दक्षिण कोरियामा परीक्षार्थीले चिट चोर्दा शिक्षामन्त्रीद्धारा राजीनामा
दक्षिण कोरियामा एआई प्रयोग गरी परीक्षामा चिट चोरेको घटना सार्वजनिक भएपछि शिक्षामन्त्री चोई क्यो-जिनले राजीनामा दिएका छन्।
राष्ट्रिय कर लेखा परीक्षकको परीक्षामा सर्वाधिक अंक ल्याएर पहिलो भएका एक परीक्षार्थीले एआईको सहायताले चिट चोरेको स्वीकार गरेपछि मन्त्रीले राजीनामा दिएका हुन्।
रोयटर्सका अनुसार ती परीक्षार्थीले सानो क्यामेराबाट प्रश्नपत्रको तस्बिर खिचेर एआईमा पठाउने र प्राप्त उत्तर स्मार्टफोनमा हेरेर लेख्ने गरेका थिए। उनले परीक्षाका दुवै चरणमा यस्तो गरेको स्वीकार गरेका छन्।
घटना सार्वजनिक भएपछि विश्वविद्यालय प्रवेश परीक्षामा पनि यस्तै अनियमितता हुन सक्ने आशंकामा सरकारले सुरक्षा व्यवस्था कडा बनाएको थियो। परीक्षा केन्द्रमा वाइफाइ बन्द गर्ने, निरीक्षकको सङ्ख्या दोब्बर बनाउने तथा मोबाइल, घडी र अन्य विद्युतीय उपकरणको कडाइका साथ जाँच गर्ने व्यवस्था गरिएको थियो।
गत बिहीबार सम्पन्न विश्वविद्यालय प्रवेश परीक्षामा विद्युतीय उपकरणसँग सम्बन्धित १११ वटा अनियमितता भेटिएको शिक्षा मन्त्रालयले जनाएको छ।
परीक्षा सकिएको तीन दिनपछि आइतबार शिक्षामन्त्री चोईले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। परीक्षा व्यवस्थापनमा पर्याप्त तयारी गर्न नसकेको भन्दै आलोचना भएपछि उनले जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्। राष्ट्रपति ली जे म्युङले उनको राजीनामा स्वीकृत गरेका छन्।
दक्षिण कोरियामा विश्वविद्यालय प्रवेश परीक्षा विद्यार्थीको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण आधार मानिन्छ। करिब आठ घण्टासम्म चल्ने यस परीक्षाका लागि सरकारले विशेष सुरक्षा व्यवस्था अपनाउने गरेको छ।





प्रतिकृया दिनुहोस