गाजामा साढे तीन लाख परिवार आवासविहीन

इजरायल–हमास द्वन्द्वका कारण गाजामा तीन लाख ५० हजार परिवार तत्काल आवासको अभावमा रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।

हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयका अनुसार द्वन्द्वका क्रममा करिब चार लाख १० हजार आवासीय एकाइमा क्षति पुगेको छ। तीमध्ये तीन लाख ३५ हजार पूर्ण रूपमा ध्वस्त भएका छन् भने ७५ हजार बस्न नमिल्ने अवस्थामा पुगेका छन्। गाजाका करिब ८० प्रतिशत भवन र ९० प्रतिशत पूर्वाधारमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

आवासको अभावमा दुई लाख ७० हजार परिवार तीन वर्षभन्दा लामो समयदेखि आधारभूत सुविधाविनै पालमा बस्दै आएका छन्। वर्षायाम सुरु भएसँगै सात हजार ५०० परिवार बाढीको जोखिममा छन् भने दुई हजार ५०० परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ।

मन्त्रालयले प्रतिकूल मौसमअघि दुई लाख जीर्ण पाल विस्थापित गरी नयाँ पाल उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याएको छ।

यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग आवास सामग्री, भारी उपकरण, इन्धन तथा आवश्यक सामग्री आपूर्तिका लागि विशेष मानवीय सहायता मार्ग स्थापना गर्न आग्रह गरिएको छ।

साथै, भग्नावशेष हटाउने, सडक पुनः सञ्चालन गर्ने र प्रभावित नागरिकको सम्पत्ति अधिकार सुरक्षित गर्दै स्थायी आवास पुनर्निर्माण कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।

प्रतिकृया दिनुहोस
↑