डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको घोषणा

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने बताएकी छन्। यद्यपि, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकाले स्वदेश फर्किएलगत्तै उनी पक्राउ पर्ने र जेल चलान हुने सम्भावना छ।

विद्यार्थी नेतृत्वको जनविद्रोहपछि १५ वर्ष लामो शासन अन्त्य भएपछि हसिना सन् २०२४ अगस्ट ५ मा बङ्गलादेश छाडेर भारत गएकी थिइन्। प्रदर्शनका क्रममा सयौँ मानिसको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनीमाथि मुद्दा चलाइएको थियो। अदालतले सुनाएको मृत्युदण्डको सजाय अस्वीकार गर्दै हसिनाले स्वदेश फर्किएपछि कानुनी लडाइँ लड्ने बताउँदै आएकी छन्।

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले हसिनालाई अदालतले दोषी ठहर गरिसकेको र उनलाई सुपुर्दगी गर्न सरकारले भारतसँग आग्रह गरिसकेको बताएका छन्। सरकारले यस विषयमा आफ्नो अडान परिवर्तन नगर्ने उनको भनाइ छ।

हसिनाले मङ्गलबार डिसेम्बर १६ मा स्वदेश फर्किने योजना सार्वजनिक गर्दै प्रधानमन्त्री रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानमार्फत दिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन आग्रह गरेकी छन्। उनका प्रवक्ता सैयद मोजाम्मेल अलीले सन् २०२४ अगस्ट ५ मा बङ्गलादेशी विमानबाट भारत गएकाले स्वदेश फर्कने यात्राको व्यवस्था पनि सरकारले नै गर्नुपर्ने बताएका छन्।

डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो। सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि बङ्गलादेश स्वतन्त्र भएको सम्झनामा यो दिवस मनाइन्छ। हसिनाका सहयोगी अबु ओबैदा अरिनका अनुसार उनले आफ्ना पिता तथा बङ्गलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको नेतृत्वमा प्राप्त ऐतिहासिक विजयको सम्मान गर्दै यही दिन स्वदेश फर्कने चाहना राखेकी हुन्। हसिनाको पुनरागमनपछि देश शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

यस महिनाको सुरुमा एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा हसिनाले कुनै पनि मूल्य चुकाएर भए पनि डिसेम्बरमै स्वदेश फर्किने बताएकी थिइन्। मृत्युसमेतले आफूलाई घर फर्कनबाट रोक्न नसक्ने उनको भनाइ थियो।

हसिनाले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने समयसीमा गुमाइसकेको र अब सजाय रोक्ने कानुनी आधार नरहेको एक अभियोजकले यसअघि बताएका थिए। बङ्गलादेशमा राष्ट्रपतिबाट क्षमादान पाउने व्यवस्था भए पनि हसिनाले त्यसका लागि आग्रह गरेकी छैनन्। उनले अदालतको फैसलालाई निरन्तर अस्वीकार गर्दै आएकी छन्।

हसिनाको सत्ता पतन भएको तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका थिए। उनी नेतृत्वको सरकारले हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउँदै फेब्रुअरीमा भएको निर्वाचनमा सहभागी हुन रोक लगाएको थियो। त्यसपछि तारिक रहमान नेतृत्वको निर्वाचित सरकारले सत्ता सम्हालेको हो।

सन् १९७१ को स्वतन्त्रता युद्धमा पाकिस्तानी सैन्य नेतृत्वको पक्षमा रहेको जमात–ए–इस्लामी पार्टी भने फेब्रुअरीको निर्वाचनसँगै पुनः सक्रिय राजनीतिमा फर्किएको थियो। अहिले उक्त पार्टी बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बनेको छ। हसिनाको शासनकालमा यस पार्टीका कैयौँ शीर्ष नेताहरूलाई युद्ध अपराधको आरोपमा मृत्युदण्ड दिइएको थियो।

हसिनाका पिता शेख मुजीबुर रहमानले पाकिस्तानविरुद्धको स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेका थिए। सन् १९७५ मा भएको सैन्य ‘कू’ का क्रममा उनी र परिवारका अधिकांश सदस्यको हत्या भएको थियो। त्यसबेला देशबाहिर रहेका कारण हसिना र उनकी कान्छी बहिनी भने बाँच्न सफल भएका थिए।

प्रतिकृया दिनुहोस
↑