ट्रम्पद्धारा चीन र भारत सहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रमा आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। आफ्नो व्यापार नीतिलाई थप कडा बनाउँदै उनले विभिन्न देशबाट आयात हुने वस्तुमा २० देखि ४० प्रतिशतसम्म शुल्क लगाउने प्रस्ताव अघि सारेका हुन्।
प्रस्तावित शुल्कअनुसार चीनबाट आयात हुने वस्तुमा सबैभन्दा बढी ४० प्रतिशतसम्म र भियतनाममा ३५ प्रतिशतसम्म शुल्क लगाइनेछ। अन्य देश तथा क्षेत्रका वस्तुमा भने २० देखि २५ प्रतिशतसम्म शुल्क लगाउने तयारी छ। नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ।
अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा गरेको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चमा विभिन्न देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो। सोही अनुसन्धानका आधारमा नयाँ शुल्क घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नयाँ शुल्कको प्रस्तावमा चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारत रहेका छन्।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ भन्सार शुल्कले अमेरिकी श्रमिकका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विश्व अर्थतन्त्रलाई दिगो दिशामा अघि बढाउन सहयोग गर्ने दाबी गरेका छन्। उनका अनुसार अमेरिकाका व्यापारिक साझेदारहरूले दशकौँदेखि उत्पादन, ज्याला तथा श्रम व्यवस्थापनलाई प्रभावित पार्ने औद्योगिक रणनीति र बजार नियन्त्रणका अभ्यास गर्दै आएका छन्। यस्ता अभ्यासले अमेरिकी उत्पादन क्षेत्र कमजोर बनाउनुका साथै व्यापार सन्तुलनसमेत अन्य देशको पक्षमा पारेको उनको आरोप छ।
भन्सार शुल्क भनेको विदेशबाट आयात गरिने वस्तुमा लगाइने कर हो। सामान्यतया आयातित वस्तुको मूल्यको निश्चित प्रतिशतका आधारमा यस्तो शुल्क निर्धारण गरिन्छ। यसको भुक्तानी आयातकर्ताले सरकारलाई गर्नुपर्छ।
यद्यपि, ट्रम्प प्रशासनले केही देशसँग यसअघि नै व्यापारिक सहमति गरिसकेकाले प्रस्तावित शुल्कका दर प्रभावकारी रूपमा कम हुन सक्ने बताइएको छ। देशअनुसार शुल्कको दर पनि फरक हुनेछ।
अर्थशास्त्रीहरूले भने नयाँ भन्सार शुल्कले मुद्रास्फीति बढाउन सक्ने चेतावनी दिएका छन्। आयात लागत बढ्दा व्यवसायीले त्यसको भार उपभोक्तामाथि सार्न सक्ने भएकाले दैनिक उपभोग्य वस्तुसहित विभिन्न सामानको मूल्य बढ्न सक्ने उनीहरूको भनाइ छ। यसका साथै नयाँ शुल्क नीतिले अन्तर्राष्ट्रिय व्यापारमा संकुचन ल्याउन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै पटक–पटक भन्सार शुल्क लगाउने निर्णय गर्दै आएका छन्। उनले आयातमा निर्भरता घटाएर स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो नीति अघि बढाएको बताउँदै आएका छन्।





प्रतिकृया दिनुहोस