जीवाश्म इन्धनको विवादले कोप–३१ सम्मेलन निष्कर्षविहीन

टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ जलवायु सम्मेलन जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा निष्कर्षविहीन बनेको छ।

युरोपेली सङ्घसहित विभिन्न देशले चौथो मस्यौदा सम्झौता अस्वीकार गरेपछि सम्मेलनको निष्कर्ष अन्योलमा परेको हो। कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको उल्लेख मस्यौदामा नभएको भन्दै युरोपेली सङ्घले आपत्ति जनाएको छ।

युरोपेली सङ्घका प्रतिनिधि डाराग ओब्रायनले केही तेल उत्पादक देशले आफ्नो स्वार्थअनुसार सम्मेलनलाई प्रभावित पारेको आरोप लगाउँदै सम्झौता जलवायु परिवर्तन नियन्त्रणका लागि पर्याप्त नभएको बताए।

सम्मेलन अध्यक्ष मुरात कुरुमले चौथो मस्यौदामा सहमति हुन नसकेको र नयाँ मस्यौदा नल्याइने बताएका छन्। रुसले जीवाश्म इन्धनको प्रयोग तत्काल अन्त्य गर्दा ऊर्जा अभाव र गरिबी बढ्न सक्ने तर्क गरेको छ भने चीनले असन्तुष्टिका बाबजुद मस्यौदा स्वीकार गर्ने जनाएको छ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका कार्यकारी सचिव साइमन स्टिलले सम्मेलनमा अपेक्षित सहमति नजुटेको स्वीकार गर्दै अन्य विषयमा भने प्रगति र ठोस निर्णय भएको बताए ।

सम्मेलनमा सहभागी पूर्वआयरिस राष्ट्रपति तथा पूर्वसंयुक्त राष्ट्रसंघीय जलवायु दूत मेरी रोबिन्सनले वार्तामा नेतृत्व र तत्परता अभाव देखिएको भन्दै निराशा व्यक्त गरिन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्मेलन साझा निष्कर्षमा पुग्न नसकेकोमा निराशा व्यक्त गरेका छन् ।

यता, जीवाश्म इन्धन प्रयोग घटाउने समयसीमा, आर्थिक सहयोग र न्यायोचित ऊर्जा रूपान्तरणको योजना समेट्न नसकेको भन्दै वातावरणीय अभियानकर्मीहरूले पनि मस्यौदाको आलोचना गरेका छन्।

प्रतिकृया दिनुहोस
↑