भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट ११ जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १८० भन्दा बढी व्यक्ति बिरामी परेका छन्।

घटनाबारे मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार अनुसन्धान गर्न र दोषीमाथि कारबाही अघि बढाउन निर्देशन दिएका छन्।

मुख्यमन्त्री सिंहका अनुसार पछिल्लो ४८ घण्टामा विषाक्त मदिरा सेवनबाट ११ जनाको ज्यान गएको हो। बिरामी परेका १८० भन्दा बढी व्यक्ति हाल दुईवटा अस्पतालमा उपचाररत छन्।

उनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल पक्राउ गर्न तथा उनीहरूमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

भारतमा अवैध तथा मिसावटयुक्त मदिरा सेवनबाट मानिसहरूको मृत्यु हुने घटना पटकपटक सार्वजनिक हुने गरेका छन्। विशेषगरी नियमनबाहिर बिक्री हुने सस्तो मदिरामा मिथानोल नामक विषाक्त औद्योगिक रसायन मिसाइने गरेको बताइन्छ।

यसअघि गत मे महिनामा महाराष्ट्रको पुणे र छिमेकी पिम्परी–चिन्चवाड क्षेत्रमा मिथानोल मिसाइएको अवैध मदिरा सेवनबाट कम्तीमा १५ जनाको मृत्यु भएको थियो। त्यस्तै, गत अगस्टमा गुजरातको भावनगर जिल्लामा दूषित मदिरा सेवनबाट १३ जनाको ज्यान गएको थियो भने ६० भन्दा बढी व्यक्ति प्रभावित भएका थिए।

भारतका विभिन्न क्षेत्रमा अवैध मदिरा सस्तो मूल्यमा बिक्री हुने गरेको छ। मिथानोल सेवनले अन्धोपन, कलेजोमा क्षति लगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। यसको सेवनले ज्यानसमेत जान सक्ने जोखिम हुन्छ।

प्रतिकृया दिनुहोस
↑