एशिया कप राइजिङ स्टार्समा नेपालले आज पाकिस्तान ‘ए’ सँग खेल्दै

एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत आज नेपालले पाकिस्तान ए को सामना गर्दैछ । दोहामा हुने यो खेल आज दिउसो ३; ४५ बजेदेखि शुरु हुदैछ ।

प्रतियोगितामा नेपालले पहिलो खेलमा भारत ए सँग ३०६ रनको फराकिलो हार बेहोरेर खराब शुरुवात गरेको थियो भने दोस्रो खेलमा युएईलाई पराजित गरेर कमब्याक गरेको थियो । त्यस्तै पाकिस्तान ए ले भने भारत ए र युएईलाई पराजित गरेर सेमिफाइनलमा पुगिसकेको छ ।

नेपाल सेमिफाइनलमा पुग्न आज पाकिस्तान ए लाई ठुलो अन्तरले पराजित गर्नुपर्ने अवस्था रहेको छ भने आजै हुने भारत ए र युएईबीचको खेलको नतिजाले पनि नेपाल सेमिफाइनलमा पुग्ने नपुग्ने टुंगो लाग्ने छ । तर प्राविधिक रुपमा सम्भावना भएपनि नेपालको सेमिफाइनल यात्रा कठिन देखिएको छ ।

नेपाल सन्दीप लामिछानेको कप्तानीमा यो प्रतियोगिता खेलिरहेको छ । नेपाली टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल छन्।

एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने हङकङ, नेपाल र युएईका मुख्य टिम प्रतिष्पर्धा गर्दैछन् । नेपालले भने एनपीएल जारी रहेकाले धेरै जसो खेलाडी प्लेअफबाट बाहिरिएका टिमका खेलाडी समेटेको छ ।

प्रतिकृया दिनुहोस
↑