१०औँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

यही १६ देखि २७ मंसिरसम्म सञ्चालन हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले आज सार्वजनिक गरेको विवरणमा एथ्लेटिक्स, महिला र पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल, कबड्डी सुर्खेतमा सञ्चालन हुने उल्लेख छ ।

त्यस्तै, कराँते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराँते, टेबुल टेनिस, उसु, तेक्वान्दो, जिम्न्याष्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारत्तोलन, साइक्लिङ, ई–स्पोर्टस् पनि सुर्खेतकै विभिन्न स्थानमा सञ्चालन हुने परिषद्का सदस्य सचिव रामचरित्र मेहत्ताले जानकारी दिए । उनका अनुसार, टेनिस, महिला तथा पुरुष खो–खो (बर्दिया), पौडी र सुटिङ  (नेपालगञ्ज) हुनेछ ।

त्यस्तै, जुडो र कुस्ती (सल्यान), आईटीएफ तेक्वान्दो (दैलेख), महिला तथा पुरुष फुटबलको सेमी र फाइनल खेल (जुम्ला), बुद्धिचाल (कालीकोट), शारीरिक सुगठन (पश्चिम रुकुम)मा हुनेछ ।

सदस्य सचिव मेहत्ताका अनुसार सुर्खेतमा २२, सल्यानमा दुई, जुम्ला, कालीकोट, दैलेख र रुकुम पश्चिममा एक/एक खेल हुनेछन् ।

त्यस्तै, बाँके र बर्दियामा दुई/दुई खेल सञ्चालन गरिनेछ । केही खेल यही ८ मंसिर देखि सुरु हुने भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन यही १६ मंसिरमा गरिनेछ ।

प्रतिकृया दिनुहोस
↑