सुदूरपश्चिम रोयल्स पहिलोपटक एनपीएल च्याम्पियन
दुईपटक फाइनल पुगेर पनि उपाधिबाट विमुख भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी उचालेको छ। अघिल्ला दुई संस्करणको फाइनल हारको पीडा बिर्साउँदै सुदूरपश्चिमले शनिबार साविक विजेता लुम्बिनी लायन्सलाई एकपक्षीय खेलमा १० विकेटले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो। सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले अविश्वसनीय ब्याटिङ गरे। उनले ५४ बलमा अविजित १२५ रन बनाए। यस क्रममा १२ छक्का र ८ चौका प्रहार गरेका उनले केवल ४९ बलमै शतक पूरा गरेका थिए।
एनपीएलको फाइनलमा शतक बनाउने मुन्से पहिलो खेलाडी बनेका छन्। उनले प्रतियोगिताको फाइनलमा व्यक्तिगत उच्च रनको कीर्तिमानसमेत आफ्नो नाममा लेखाए। यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले बनाएको ८७ रन सर्वाधिक व्यक्तिगत स्कोर थियो।
मुन्सेलाई अर्को छेउबाट विनोद भण्डारीले बलियो साथ दिए। उनले २७ बलमा अविजित ३० रन बनाए। दुवै ओपनरले पहिलो विकेटका लागि ८० बलमा १५६ रनको साझेदारी गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।
यो जित सुदूरपश्चिमका लागि केवल उपाधि प्राप्ति मात्र होइन, अघिल्ला दुई संस्करणमा भोगेको फाइनल हारको जवाफ पनि हो।
सुदूरपश्चिमको उपाधि यात्रामा यसपटक पनि लुम्बिनी नै सबैभन्दा ठूलो बाधक बनेको थियो। लिग चरणको पहिलो खेलमै लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिम पहिलो क्वालिफायरमा पनि उसैसँग हारेको थियो। पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो।





प्रतिकृया दिनुहोस