काठमाडौंको मेयरमा उठ्ने सुमना श्रेष्ठको घोषणा

पूर्वसांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै आफूले हासिल गरेको ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन तथा रूपान्तरणका लागि उपयोग गर्ने बताएकी छन् ।

काठमाडौं महानगरपालिकालाई व्यवस्थित, समृद्ध र सुशासित बनाउने उद्देश्यसहित मेयर पदमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ । यद्यपि, उनले कुन राजनीतिक दलबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भन्नेबारे खुलाएकी छैनन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित। आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’

श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी थिइन् । पार्टीभित्रको विवादपछि उनले रास्वपा त्यागेकी थिइन् ।

प्रतिकृया दिनुहोस
↑