ममताको शव टुक्राटुक्रा पारेको नरेशद्वारा स्वीकार, हत्या अस्वीकार

अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको बेपत्ता तथा हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टले श्रीमतीको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन् । तर, उनले ममताको हत्या भने आफूले नगरेको दाबी गरेका छन् ।

बिहीबार प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा भइरहेको हत्या मुद्दाको सुनुवाइका क्रममा बयान दिँदै भट्टले सन् २०२४ जुलाई ३० को बिहान ममतालाई शयनकक्षको भुइँमा अचेत अवस्थामा फेला पारेको बताएका हुन् ।

उनका अनुसार ममताको मुख र भुइँमा वान्ता देखिएको थियो । त्यसमा रगत, खानाका टुक्रा, क्याप्सुल र कीटनाशक विषादीका रूपमा प्रयोग हुने ‘सेलफोस’ का अवशेष रहेको उनले बताएका छन् । ममताले विषादी सेवन गरेको हुन सक्ने आफूलाई लागेको उनको भनाइ थियो ।

भट्टले श्रीमतीको सास चलिरहेको छ कि छैन भनेर जाँच गरेको, मुखबाट सास दिने तथा छाती थिचेर कृत्रिम श्वासप्रश्वास गराउने प्रयास गरेको दाबी गरेका छन् । उनलाई बचाउन करिब ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गरेको बताए पनि प्रहरीको आपत्कालीन नम्बर ९११ मा फोन नगरेको स्वीकार गरेका छन् ।

‘किन फोन गरिनँ, मलाई थाहा छैन । त्यो बेला ममाथि केही हाबी भयो । म निकै डराएको र आत्तिएको थिएँ,’ उनले अदालतमा भने ।

श्रीमतीको मृत्युका लागि आफूलाई दोषी ठहर गरिने डरले शव लुकाउने निर्णय गरेको भट्टको भनाइ छ । उनले शव कसरी लुकाउने भन्नेबारे इन्टरनेटमा खोजी गरेको र आवश्यक सामग्रीका लागि होम डिपोसमेत पुगेको बताएका छन् ।

अदालतमा बयान दिँदै उनले र्‍योबी (Ryobi) ब्रान्डको विद्युतीय आरा र चक्कु प्रयोग गरेर ममताको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन् । फोहोर फाल्ने डस्टबिनमा अटाउन सहज होस् भनेर शव सानो आकारमा काटेको उनको भनाइ छ ।

उनका अनुसार शवका टुक्राहरू प्लास्टिकका झोलामा राखेर घरबाहिरको डस्टबिनमा राखेका थिए । उक्त डस्टबिन सडकछेउ फोहोर संकलन गर्ने स्थानमा राख्दा शवका अवशेष पनि फोहोरसँगै लगिने आफूलाई थाहा भएको उनले अदालतमा बताएका छन् ।

यद्यपि, अभियोजन पक्षले भने भट्टले शव भएका झोलाहरू टेस्ला कारमा राखेर विभिन्न फोहोर फाल्ने स्थानमा पुर्‍याएको दाबी गरेको छ । भट्टले भने शवलाई एउटा मात्र डस्टबिनमा राखेर घरबाहिर छाडेको बयान दिएका छन् ।

भट्टले शव लुकाएको र क्षतविक्षत पारेको अभियोग स्वीकार गरेका छन् । तर, आफूले हत्या नगरेको दाबी गर्दै आएका छन् ।

परिस्थितिजन्य प्रमाणका आधारमा अनुसन्धान

ममता काफ्ले युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् । उनी काममा उपस्थित नभएपछि प्रहरीले उनको खोजी तथा अनुसन्धान सुरु गरेको थियो ।

सुरुमा भट्टले ममता बेपत्ता भएको कुरा अस्वीकार गर्दै उनलाई अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए । उनले अगस्ट ५, २०२४ मा मात्रै प्रहरीमा श्रीमती बेपत्ता भएको उजुरी दिएका थिए । त्यस क्रममा ममताले आफूलाई छाड्ने धम्की दिएको र सम्बन्धविच्छेदको प्रस्ताव राखेको दाबीसमेत गरेका थिए ।

तर, ममताका साथीभाइ तथा परिवारले भने उनी आफ्नी सानी छोरीलाई छाडेर कतै नजाने बताएका थिए ।

प्रहरीले उनीहरूको मुख्य शयनकक्ष र बाथरुममा रगतका टाटा फेला पारेको थियो । साथै, कपालका टुक्रा अड्किएको विद्युतीय आरा पनि बरामद गरेको थियो । त्यसपछि प्रहरीले अगस्ट २२, २०२४ मा भट्टलाई पक्राउ गरेको थियो ।

भट्टमाथि फर्स्ट डिग्री मर्डर, शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोग लगाइएको छ । उनी पक्राउ परेयता हिरासतमै छन् । ममता काफ्लेको शव भने अहिलेसम्म फेला परेको छैन ।

प्रतिकृया दिनुहोस
↑