मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्किने हसिनाको अडान

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्किने अडान दोहोर्‍याएकी छन् ।

सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएर भारतमा बस्दै आएकी हसिनाले गिरफ्तारी, जेल र यातनाको जोखिम भए पनि स्वदेश फर्किने निर्णयबाट पछि नहट्ने बताएकी हुन् ।

विद्यार्थी आन्दोलनका क्रममा भएको दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाएको थियो । संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार उक्त आन्दोलनका क्रममा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो । तर, हसिनाले आफूमाथिका आरोप अस्वीकार गर्दै फैसलाको वैधतामाथि प्रश्न उठाउँदै आएकी छन् ।

बंगलादेशले पटक–पटक सुपुर्दगीका लागि आग्रह गरे पनि भारतले हसिनालाई हस्तान्तरण गरेको छैन । एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत जवाफ दिँदै हसिनाले आफू आफ्नै देशको माटोमा र जनताबीच मर्न चाहेको बताएकी छन् ।

स्वदेश फर्किएपछि आफू गिरफ्तारी, यातना वा हत्याको जोखिममा पर्न सक्ने उनको भनाइ छ ।

हसिना सत्ताच्युत भएपछि मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले १८ महिना शासन गरेको थियो । उक्त सरकारले गत फेब्रुअरीमा गराएको निर्वाचनबाट खालिदा जियाका छोरा तारिक रहमान सत्तामा आएका छन् । निर्वाचनमा हसिनाको दल अवामी लिगलाई भने सहभागी हुन प्रतिबन्ध लगाइएको थियो ।

हसिनाले सन् २०२४ को अगस्टयता आफ्नो पार्टीका कम्तीमा २० हजार सदस्य मारिएको तथा हजारौँ पक्राउ, यातना र विस्थापनमा परेको आरोप लगाएकी छन् । उनले देशमा सामान्य राजनीतिक तथा लोकतान्त्रिक वातावरण नरहेको दाबीसमेत गरेकी छन् । यद्यपि, सरकारले पक्राउका घटनामा कानुनी आधार रहेको बताउँदै आएको छ ।

विदेशी शक्तिको सहयोग वा अनुमति लिएर मात्र स्वदेश फर्कनुपर्ने अवस्था नरहेको बताउँदै हसिनाले बंगलादेशमा कट्टरपन्थी समूहको प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।

अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले पनि कट्टरपन्थी समूहको बढ्दो प्रभाव र अल्पसंख्यक समुदायमाथि भइरहेका धम्कीप्रति चिन्ता जनाउँदै आएका छन् । युनुस नेतृत्वको अन्तरिम सरकारले भने यस्ता आरोप अस्वीकार गरेको थियो ।

यसैबीच, वर्तमान सरकारले बिग्रँदो कानुन तथा व्यवस्थाको अवस्थालाई लिएर आलोचना खेपिरहेको छ ।

प्रतिकृया दिनुहोस
↑