दुवै सदनमा डेमोक्र्याटको वर्चस्व, ट्रम्पलाई धक्का
मंगलबार सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीले ठूलो राजनीतिक धक्का बेहोरेका छन्। रिपब्लिकनप्रति मतदाताको समर्थन घटेसँगै डेमोक्र्याटहरूले दशकौँदेखि जित्न नसकेका परम्परागत रिपब्लिकन गढमा समेत ऐतिहासिक सफलता हात पारेका छन्।
निर्वाचन परिणामअनुसार डेमोक्र्याटहरूले सिनेटमा स्पष्ट बहुमत हासिल गरेका छन् भने प्रतिनिधिसभामा पनि नियन्त्रण फिर्ता लिने दिशामा बलियो अग्रता बनाएका छन्। विशेषगरी टेक्ससमा सिनेट र गभर्नर दुवै पदमा जित निकाल्दै डेमोक्र्याटहरूले सन् १९९४ यताकै पहिलो ऐतिहासिक सफलता हासिल गरेका छन्।
त्यस्तै, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना र ओहायोमा सिनेटका सिट जित्न उनीहरू सफल भएका छन्। जर्जियामा सन् १९९८ पछि र ओहायोमा सन् २०१० पछि पहिलोपटक गभर्नर पदमा समेत डेमोक्र्याटहरूले विजय हासिल गरेका छन्।
प्रतिनिधिसभातर्फ पनि डेमोक्र्याट उम्मेदवारहरूले केन्टकीसहित रिपब्लिकनलाई अनुकूल हुने गरी निर्वाचन क्षेत्रको सीमांकन गरिएको फ्लोरिडाका क्षेत्रमा समेत जित निकालेका छन्। यसैबीच, रिपब्लिकन चुनावी अभियान समितिका प्रमुखसमेत आफ्नै निर्वाचन क्षेत्रमा पराजयको जोखिममा परेका छन्।
मतदानपछिका प्रारम्भिक सर्वेक्षणले ल्याटिनो, क्याथोलिक तथा ३० वर्षमुनिका युवा मतदाताको उल्लेख्य हिस्सा डेमोक्र्याटतर्फ आकर्षित भएको देखाएका छन्। सर्वेक्षणमा सहभागी १० जनामध्ये चारभन्दा बढीले आफ्नो पारिवारिक आर्थिक अवस्था दुई वर्षअघिको तुलनामा कमजोर बनेको बताएका छन्। त्यस्तै, करिब ७५ प्रतिशत मतदाता देशको वर्तमान अवस्थाप्रति असन्तुष्ट देखिएका छन्।
विश्लेषकहरूका अनुसार बढ्दो महँगी, आयात शुल्क (ट्यारिफ), इरानसँगको युद्ध तथा जेफ्री एप्स्टिन प्रकरणलगायतका विवादले ट्रम्प प्रशासनप्रतिको जनअसन्तुष्टि बढाएको छ। त्यसका साथै रिपब्लिकन समर्थकहरू मतदानमा अपेक्षित रूपमा सहभागी नहुनुले पनि पार्टीको पराजयमा महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै कङ्ग्रेसमा नेतृत्वदायी भूमिका पाउने तयारीमा रहेका डेमोक्र्याटहरू ट्रम्प प्रशासनका निर्णयमाथि अंकुश लगाउन र विभिन्न विषयमा छानबिन अघि बढाउन सक्रिय भएका छन्। प्रतिनिधिसभाका डेमोक्र्याटिक नेता हकिम जेफ्रिजले मतदाताले परिवर्तनको पक्षमा स्पष्ट जनादेश दिएको बताएका छन्। त्यस्तै, क्यालिफोर्नियाका सांसद रोबर्ट गार्सियाले ट्रम्प परिवार र प्रशासनसँग सम्बन्धित विषयमा कानुनी छानबिनलाई तीव्रता दिने चेतावनी दिएका छन्।
उता, निर्वाचनमा ठूलो धक्का बेहोरेका राष्ट्रपति ट्रम्पले डेमोक्र्याटको नियन्त्रणमा रहने सम्भावना रहेको कङ्ग्रेससँगको राजनीतिक टकरावका लागि भिटो अधिकार प्रयोग गर्ने संकेत गरेका छन्। आफूलाई ‘मिस्टर भिटो’ को संज्ञा दिँदै उनले कङ्ग्रेसबाट पारित हुने विधेयकहरू रोक्ने र त्यसैमार्फत विपक्षी दललाई वार्तामा आउन बाध्य पार्ने दाबी गरेका छन्।
यता, ह्वाइट हाउसले भने निर्वाचन परिणामको जिम्मेवारी उम्मेदवारहरूको व्यक्तिगत कमजोरीमाथि थोपरेको छ। साथै, आगामी दुई वर्ष वामपन्थी शक्तिविरुद्धको राजनीतिक संघर्षलाई अझ आक्रामक बनाउने संकेतसमेत दिएको छ।





प्रतिकृया दिनुहोस