इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता रोक्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई प्रदान गर्दै आएको वार्षिक सैन्य सहायता रोक्ने घोषणा गरेका छन् । उनले यस वर्षको अन्त्यपछि इजरायललाई दिइँदै आएको आर्थिक सहयोग बन्द गरिने बताएका हुन् ।

ट्रम्पका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्षिक सहायता रोक्ने विषयमा सहमति भएको छ । यद्यपि, अमेरिकाले इजरायललाई हतियार बिक्री भने निरन्तर जारी राख्नेछ । आवश्यक परेको अवस्थामा इजरायललाई सहयोग गर्नसमेत अमेरिका तयार रहने ट्रम्पले बताएका छन् ।

फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’ मा बोल्दै ट्रम्पले सन् २०२६ को अन्त्यसम्म इजरायललाई दिइँदै आएको आर्थिक सहायता बन्द गरिने जानकारी दिएका हुन् । तर, डिसेम्बरभित्रै सहायता रोक्ने प्रक्रिया कसरी अघि बढाइनेछ भन्नेबारे उनले स्पष्ट पारेका छैनन् ।

हाल अमेरिका र इजरायलबीचको सैन्य सहायता सम्झौता सन् २०२८ को सेप्टेम्बरसम्म कायम छ । उक्त सम्झौताअनुसार अमेरिकाले इजरायललाई प्रत्येक वर्ष ३ अर्ब ८० करोड अमेरिकी डलर सैन्य सहायता उपलब्ध गराउँदै आएको छ ।

ट्रम्पको यो घोषणा अमेरिकाभित्र इजरायलप्रतिको समर्थन घट्दै गइरहेको समयमा आएको हो । विशेषगरी गाजामा इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाहीलाई लिएर अमेरिकी राजनीतिक वृत्तमा अमेरिकी सहयोगको विषयमा बहस हुँदै आएको छ ।

गत जुनमा क्विनिपियाक विश्वविद्यालयले गरेको सर्वेक्षणमा ४८ प्रतिशत अमेरिकी मतदाता र ६६ प्रतिशत डेमोक्रेटिक मतदाताले अमेरिकाले इजरायललाई आवश्यकताभन्दा बढी समर्थन गरिरहेको धारणा व्यक्त गरेका थिए ।

इजरायललाई दिइने अमेरिकी सहायता रिपब्लिकन पार्टीभित्रै पनि बहसको विषय बन्दै आएको छ । मध्यपूर्वमा इजरायललाई अमेरिकाले अत्यधिक सहयोग गरिरहेको भन्दै जनमतमा प्रश्न उठिरहेका बेला ट्रम्पले सहायता रोक्ने घोषणा गरेका हुन् ।

यसैबीच, अमेरिकामा जारी मध्यावधि निर्वाचनलाई लिएर ट्रम्पको रिपब्लिकन पार्टीले प्रतिनिधिसभाको नियन्त्रण गुमाउन सक्ने आकलनसमेत गरिएको छ ।

ट्रम्पले इजरायललाई अमेरिकी आर्थिक सहयोग आवश्यक नरहेको तर्क गर्दै सहायता रोक्ने निर्णयको बचाउ गरेका छन् । उनको यो घोषणाले अमेरिका र इजरायलबीच दशकौँदेखि कायम सैन्य सम्बन्धमा परिवर्तन आउन सक्ने संकेत गरेको छ ।

प्रतिकृया दिनुहोस
↑