विज्ञान र नवप्रवर्तन प्राथमिकतामा, १६५ कानुन निर्माणको लक्ष्य
विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि आवश्यक कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्रिपरिषद्का दुई सदस्यले बताएका छन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले भरतपुरमा स्थानीयवासीसँगको साक्षात्कार कार्यक्रममा बोल्दै नवप्रवर्तन, प्रविधिको उपयोग र आवश्यक कानुन निर्माणलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका हुन्।
मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि नयाँ मन्त्रालय स्थापना भएको र आवश्यक कानुनको अभावमा सुरुमा केही चुनौती देखिए पनि ती समस्या समाधान गर्दै सरकार समृद्ध नेपाल निर्माणको दिशामा अघि बढिरहेको बताए।
‘कानुन निर्माणको प्रक्रिया केही जटिल र समय लाग्ने भए पनि अध्यादेशमार्फत कानुनी बाटो खोलिएको छ। अब मन्त्रालयले आफ्ना योजना र अनुसन्धानका कामलाई तीव्रताका साथ अघि बढाउनेछ,’ उनले भने।
त्यस्तै, कानुनमन्त्री गौतमले लोकतान्त्रिक शासन व्यवस्थामा जनता सर्वोपरि हुने र जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताइन्। उनले सुशासन र विकासलाई गति दिन आवश्यक कानुन छिटोभन्दा छिटो निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
गौतमका अनुसार १६५ वटा कानुन निर्माण गर्ने लक्ष्यसहित सदनलाई विवरण बुझाइसकिएको छ। त्यस्तै, ५४ वटा कानुनका मस्यौदा सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्तुत भएका छन्।
नवप्रवर्तनसम्बन्धी कानुन पनि चाँडै सदनमा प्रस्तुत गरिने उनले जानकारी दिइन्।





प्रतिकृया दिनुहोस