स्थानीय तहमा उम्मेदवार बन्न रास्वपाको ‘क्यान्डिडेट क्लब’ खुला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ ।

पार्टीले स्थानीय तह निर्वाचनका लागि ‘नगरपालिका क्यान्डिडेट क्लब’ सञ्चालन गर्दै आजदेखि आवेदन खुला गरेको हो । यसअन्तर्गत नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् ।

रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार स्थानीय तहमा इमानदार, सक्षम र स्पष्ट योजनासहित काम गर्न इच्छुक व्यक्तिलाई उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउने उद्देश्यले क्यान्डिडेट क्लबको आवेदन खुला गरिएको हो ।

नगरपालिकाको विकासका लागि आफैँ सक्रिय भएर काम गर्न चाहने व्यक्तिलाई अवसर प्रदान गर्ने लक्ष्य पार्टीले राखेको छ ।

पार्टीका अनुसार यस प्रक्रियामार्फत देशभरका २७६ नगरपालिकामा प्रमुख र उपप्रमुखका लागि २७६–२७६ जना, वडाध्यक्षका लागि ३ हजार ११९ जना र वडा सदस्यका लागि १२ हजार ४७६ जना उम्मेदवार छनोट गरिनेछ । यसरी कुल १६ हजार १४७ पदका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाइने जनाइएको छ ।

क्यान्डिडेट क्लबमा सहभागी हुन इच्छुक व्यक्तिले रास्वपाको आधिकारिक मोबाइल एपमा लगइन गरी आवेदन दिन सक्ने पार्टीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑