कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ जना निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकिएको छ। असोज १८ गते शुरु भएको महाधिवेशनअन्तर्गत २३ गते राति मतगणना शुरु भएको थियो। सात दिनमा २३१ जना निर्वाचित भएको परिणाम सार्वजनिक भएको हो।
संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुने व्यवस्था गरिएको छ, यसमध्ये २३१ जना निर्वाचित भए। विभिन्न क्लस्टरका आधारमा २३१ जना निर्वाचित भएका हुन्। बाँकी ६६ जनालाई सभापतिले मनोनयन गर्ने व्यवस्था छ।
सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति बनेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भए। खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भए।
महामन्त्रीमा खुलातर्फबाट प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भए। संशोधित विधानमा महिलाबाट एक जना महामन्त्री हुने व्यवस्था गरिएअनुसार डा. डिला संग्रौला निर्वाचित भएकी छिन्।
१५ सहमहामन्त्रीमध्ये ११ जना विभिन्न समावेशी समूहबाट निर्वाचित भएका छन् भने बाँकी चार जनालाई सभापतिले मनोनयन गर्ने व्यवस्था छ।





प्रतिकृया दिनुहोस