पालुङ–हेटौँडा सडकखण्डको समस्या, ३६ घण्टादेखि हजारौँ यात्रु अलपत्र

पालुङ–हेटौँडा सडकखण्ड अवरुद्ध हुँदा काठमाडौँबाट छुटेका सयभन्दा बढी यात्रुवाहक बससहित हजारौँ यात्रु ३६ घण्टादेखि बाटोमै अलपत्र परेका छन् ।

थाहा नगरपालिका–४, सिमभञ्ज्याङदेखि हेटौँडातर्फको जङ्गल क्षेत्रमा यात्रुहरू अलपत्र परेका हुन् । सडकमा लामो समयदेखि जाम हुँदा यात्रुहरू खाना र शौचालयको सुविधाबाट समेत वञ्चित भएका छन् ।

सडकमा मोबाइल नेटवर्कसमेत नहुँदा यात्रुहरूलाई थप समस्या भएको छ । लामो समयदेखि जाममा परेका बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धा बिरामी पर्न थालेको यात्रुहरूले बताएका छन् । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रमुखलाई पटक–पटक जानकारी गराउँदा पनि प्रभावकारी पहल नभएको उनीहरूको गुनासो छ ।

वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको पालुङ सडक साँघुरो र घुमाउरो भएकाले दुवैतर्फका सवारीसाधन आवतजावतमा समस्या भएको हो । यात्रुवाहक बस र मालवाहक सवारीसाधन एकै सडकमा जाममा पर्दा आवागमन थप प्रभावित भएको छ ।

हाल सिमभञ्ज्याङदेखि तल करिब १२० वटा यात्रुवाहक बस गन्तव्यतर्फ अघि बढ्न पर्खिरहेका छन् । सोही सडक हुँदै काठमाडौँतर्फ गइरहेका १८ देखि २२ चक्के मालवाहक सवारीसाधनका कारण समेत जाम बढेको यात्रुहरूले बताएका छन् ।

सडकमा समयअनुसार सवारी सञ्चालन खुलाउने र रोक्ने गरिएकाले यात्रुहरू निर्धारित समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । यात्रुहरूका अनुसार हेटौँडातर्फ अझै करिब ३४ किलोमिटर कच्ची सडक पार गर्न बाँकी छ । लामो समयदेखि अलपत्र यात्रुहरूले तत्काल सडक व्यवस्थापन गरी आवागमन सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिकृया दिनुहोस
↑