बूढीगण्डकीमा भीषण बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको छ । आइतबार बिहान आएको बाढीले चुमनुम्ब्री गाउँपालिका–६ को सिर्दिबासस्थित जगत क्षेत्रमा घरसहितका भौतिक संरचनामा क्षति पुर्याएको छ ।
स्थानीयका अनुसार पहिरोले उग्युलुङ खोला थुनिएर एक्कासि बाढी आएको हो । उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएपछि स्थानीय बासिन्दा तथा पर्यटक सुरक्षित स्थानतर्फ लागेका थिए ।
गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रका अनुसार आइतबार बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको हो । चुमनुम्ब्री गाउँपालिका अध्यक्ष निमा लामाले पहिरोले थुनिएको खोला एक्कासि बग्दा बाढी आएको जानकारी दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । महाशाखाले बाढीको बहाव नघटेसम्म नदी किनारमा नजान र सुरक्षित उच्च स्थानमा बस्न एसएमएसमार्फत सूचना जारी गरेको छ ।
बाढीका कारण सल्लेरी, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत र आरुघाटसम्मका तटीय क्षेत्रमा क्षति पुग्न सक्ने जोखिम रहेको जनाइएको छ । बाढी आउनुको वास्तविक कारण भने खुल्न सकेको छैन ।





प्रतिकृया दिनुहोस