बूढीगण्डकी बाढी: ६ जनाको हवाई उद्धार,६ वटा पुल बगायो

बूढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण जोखिममा परेका ६ जनाको हवाई उद्धार गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित जगत क्षेत्रबाट नेपाली सेनाले उनीहरूको उद्धार गरेको हो ।

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको जानकारी दिएका छन् । उद्धार तथा राहतका लागि नेपाली सेनाको टोली स्थल र हवाईमार्गबाट परिचालन गरिएको उनले बताएका छन् ।

चुमनुब्री गाउँपालिका–६ स्थित चुम्चेत क्षेत्रमा पहिरो तथा हिमपहिरोका कारण खोला थुनिएर एक्कासि बाढी आएको बताइएको छ । लेदो र गेग्रानसहित आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका नदी तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ ।

बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे गरी छवटा पुल बगाएको छ । चुमनुब्री गाउँपालिका–३ स्थित पैयुँ र बगरका करिब ३५ घरसमेत बगाएको जनाइएको छ । जगत, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा पनि क्षति पुगेको छ । बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएको विवरणसमेत सार्वजनिक भएको छ ।

बूढीगण्डकीमा बाढीको बहाव बढेपछि बेनीघाटदेखि मुग्लिनसम्मका क्षेत्रमा जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेको भन्दै स्थानीयलाई सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ । चितवन र नवलपरासीका नदी आसपासका बासिन्दालाई समेत सतर्क रहन भनिएको छ ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र प्रशासनको सूचनाको पालना गर्न आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस
↑