आज घटस्थापना, घरघरमा जमरा राखिँदै
नेपालीको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राख्नुका साथै नवदुर्गामध्ये पहिलो स्वरूप शैलपुत्रीको पूजा आराधना गरिँदैछ ।
आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
घरको पूजाकोठा वा दशैंघरमा वैदिक विधिअनुसार कलश स्थापना गरी जौ छरेर जमरा राख्ने परम्परा छ । घटस्थापनापछि शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । शैलपुत्रीलाई नवदुर्गाका नौ स्वरूपमध्ये पहिलो स्वरूपका रूपमा पूजा गर्ने धार्मिक मान्यता छ ।
धार्मिक ग्रन्थअनुसार पर्वतराज हिमालयकी पुत्री पार्वतीलाई शैलपुत्री भनिन्छ । उनको दाहिने हातमा त्रिशूल, देब्रे हातमा कमलको फूल र निधारमा अर्धचन्द्र रहेको वर्णन गरिएको छ । नन्दीलाई वाहन बनाएकी शैलपुत्रीलाई सती, पार्वती, भवानी र हेमवतीजस्ता नामले समेत पुकारिन्छ ।
आज बिहानैदेखि काठमाडौंसहित देशका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआराधना र दर्शनका लागि भक्तजनको भीड लागेको छ ।
घटस्थापनादेखि सुरु हुने नवरात्रमा दुर्गाका नौ स्वरूपको क्रमशः पूजा गरिन्छ । बडादशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने धार्मिक परम्परा छ ।
यस वर्षको दशैंको टीका कात्तिक ४ गते परेको छ । पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तमसाइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटलाई तोकेको छ ।





प्रतिकृया दिनुहोस