मिर्जा फखरुल इस्लाम आलमगीर बने बंगलादेशको २३औँ राष्ट्रपति

बंगलादेशको राष्ट्रपतिमा सत्तारुढ बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) का उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएका छन्। उनी बंगलादेशको २३औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

राष्ट्रपति निर्वाचनमा आलमगीरले २५५ संसदीय मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तथा विपक्षी गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत प्राप्त गरे। निर्वाचनमा कुल ३४९ सांसदले मतदान गरेका थिए।

संसदमा बिएनपीको दुई तिहाइ बहुमत रहेकाले आलमगीरको जित यसअघि नै लगभग निश्चित मानिएको थियो। उनलाई सत्तारूढ दलको उम्मेदवारका रूपमा अघि सारिएको थियो भने ओली अहमदलाई जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले समर्थन गरेको थियो।

निर्वाचनमा पराजित भएपछि ओली अहमदले चुनावी प्रक्रियामाथि प्रश्न उठाएका छन्। उनले नतिजा पूर्वनिर्धारित रहेको दाबी गर्दै सांसदहरूलाई आफ्नो इच्छाअनुसार मतदान गर्ने स्वतन्त्रता नरहेको बताएका छन्।

बिएनपीका प्रमुख सचेतक नुरुल इस्लाम मोनीका अनुसार आलमगीरले अगस्ट २१ साँझ बंगभवनमा राष्ट्रपतिको शपथ लिनेछन्।

आलमगीर पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख राजनीतिक विरोधीमध्ये एक हुन्। सन् २०२४ को विद्यार्थी आन्दोलनपछि हसिना सत्ताबाट हटेपछि भारतमा बस्दै आएकी छन्।

बंगलादेशमा राष्ट्रपतिको पद मुख्यतः औपचारिक मानिन्छ। यद्यपि प्रस्तावित संवैधानिक सुधारमार्फत राष्ट्रपतिको अधिकार बढाउने विषयमा छलफल भइरहेको छ।

प्रतिकृया दिनुहोस