कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १११ जनाको मृत्यु

कोलम्बियामा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ। भूकम्पका कारण ठूलो भौतिक क्षति भएको छ भने भग्नावशेषमा मानिसहरू फसेको हुनसक्ने भएकाले मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ।

कोलम्बियाको भूगर्भीय सेवाका अनुसार बिहान ७ः३४ बजे चोको प्रान्तको सान जोसे डेल पालमार गाउँ नजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। यसको धक्का पश्चिमी कोलम्बियाका सयौँ माइलसम्म महसुस गरिएको थियो।

भूकम्पपछि सरकारले आपतकाल घोषणा गरेको छ। राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले उद्धार तथा राहत कार्यलाई तीव्रता दिन विशेष अधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। आपतकाल घोषणासँगै सरकारले उद्धार र पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न सक्नेछ।

भूकम्पको केन्द्रबिन्दु रहेको क्षेत्रमा मानवीय क्षति नभएको स्थानीय मेयर लियन फाबियो मरिन मोनकाडाले बताएका छन्। तर केन्द्रबिन्दुबाट करिब ५५ किलोमिटर टाढा रहेको पेरेइरा सहरमा ठूलो क्षति भएको छ। अधिकांश मृत्यु भवन भत्किँदा भएको बताइएको छ।

मानिजालेस, क्विब्दो, मेडेलिन, चोको र भाये डेल काउका क्षेत्रमा समेत मानवीय क्षति भएको बीबीसीले जनाएको छ। उद्धार टोलीले भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धार जारी राखेका छन्।

प्रतिकृया दिनुहोस