दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने ट्रम्पको तयारी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग अमेरिकाले गर्दै आएको संयुक्त सैन्य अभ्यासमा उल्लेख्य कटौती गर्ने घोषणा गरेका छन्। उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो ‘धेरै राम्रो सम्बन्ध’ रहेको उल्लेख गर्दै ट्रम्पले यस्तो बताएका हुन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत दक्षिण कोरियाले हालै इरानसँगको युद्धमा अमेरिकालाई सहयोग गर्न अस्वीकार गरेको दाबीसमेत गरेका छन्। उनले संयुक्त सैन्य अभ्यास महँगो हुनुका साथै त्यसले अनावश्यक रूपमा शत्रुतापूर्ण सन्देश दिने बताएका छन्।
तर, दक्षिण कोरियाले भने अमेरिकासँगको संयुक्त सैन्य अभ्यास पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सञ्चालन हुने जनाएको छ। उत्तर कोरियाले ट्रम्पको पछिल्लो घोषणाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गर्ने तयारी गरेका थिए। यसअघि आइतबार ट्रम्पले सैन्य अभ्यास रद्द गर्न ‘धेरै ढिला भइसकेको’ बताएका थिए।
यसैबीच, ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपतिसँग इरानको निःशस्त्रीकरणमा अमेरिकासँग सहभागी हुने विषयमा आफूले सोधेको र दक्षिण कोरियाले अस्वीकार गरेको दाबी गरेका छन्।
ट्रम्पको पछिल्लो घोषणाभन्दा २४ घण्टाभन्दा कम समयअघि उनले सन् २०१८ मा किम जोङ उनसँग खिचिएको पुरानो तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। तस्वीरसँगै उनले आफू र किमबीच निकै राम्रो सम्बन्ध रहेको बताएका थिए।





प्रतिकृया दिनुहोस