ट्रम्पको गाजा शान्ति योजना नेतन्याहूद्वारा अस्वीकार
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको १५ बुँदे गाजा शान्ति योजनालाई अस्वीकार गरेका छन्। उनले हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पारेका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले हमासबाट इजरायल र आफ्ना नागरिकमाथि खतरा रहिरहेसम्म सैन्य कारबाही जारी रहने बताएका हुन्।
ट्रम्पको ‘बोर्ड अफ पिस’ले गाजामा हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सहमति जुटेको दाबी गर्दै आएको छ। तर हमासले इजरायलले आक्रमण बन्द गरी गाजाबाट सेना फिर्ता गरेपछि मात्र भारी हतियार बुझाउने अडान राख्दै आएको छ।
हमासका एक अधिकारीले भने आफूहरू १५ बुँदे योजनाप्रति प्रतिबद्ध रहेको र यसको कार्यान्वयनका लागि गम्भीरतापूर्वक अघि बढ्न तयार रहेको बताएका छन्। उनले मध्यस्थकर्तालाई सहमति कार्यान्वयन गराउन आग्रह गरेका छन्।
गत सेप्टेम्बरमा सार्वजनिक गरिएको ट्रम्पको योजनामा ‘बोर्ड अफ पिस’ गठन, हमासको निशस्त्रीकरण, इजरायली सेनाको फिर्ता र गाजाको पुनर्निर्माणलगायत विषय समेटिएका छन्। नेतन्याहूको पछिल्लो अडानले गाजा शान्ति प्रयासमा थप जटिलता उत्पन्न भएको देखिएको छ।





प्रतिकृया दिनुहोस