हर्मुज जलमार्ग खोल्न इरानले अमेरिकासँग राख्यो ६ वटा सर्त

इरानले हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि पुनः खोल्नुअघि अमेरिकाले विभिन्न सर्त पूरा गर्नुपर्ने बताएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घादरले इरानी सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको वक्तव्यमा हर्मुज पुनः खोल्न अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, सबै प्रतिबन्ध अन्त्य गर्नुपर्ने, इरान वरपरबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने, युद्ध क्षतिपूर्ति दिनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने माग गरेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।

त्यसैगरी अमेरिकाले इरानका क्षेत्रीय सहयोगीमाथि गरिरहेका आक्रमण अन्त्य गर्नुपर्ने र इरानविरुद्धका धम्कीसमेत रोक्नुपर्ने उनको माग छ। यसैबीच, हर्मुज जलमार्ग खोल्ने विषयमा इरान र ओमानबीच वार्ता जारी छ। इरानी विदेशमन्त्री अब्बास अराघ्चीले वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताए पनि जलमार्ग खोल्न थप सर्त पूरा हुनुपर्ने बताएका छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि अमेरिका वार्ता प्रक्रियामा संलग्न रहेको संकेत गरेका छन्। हर्मुजमा जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्नु अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ छ।

युद्धअघि दैनिक औसत १३० वटा जहाज आवतजावत गर्ने हर्मुजमा पछिल्लो एक सातामा दैनिक १२ देखि १५ वटा जहाज मात्र पार भइरहेका छन्।

प्रतिकृया दिनुहोस