संवादका लागि तयार छौँ, आत्मसमर्पणका लागि होइन : पेजेस्कियान

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले राष्ट्रिय हित र अधिकारको रक्षा गर्न संवादलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याएका छन्। तर संवादका लागि तयार हुनु आत्मसमर्पणका लागि तयार हुनु नभएको उनले स्पष्ट पारेका छन्।

शुक्रबार आफ्नो कार्यालयको वेबसाइटमा प्रकाशित अन्तर्वार्तामा पेजेस्कियानले अमेरिकासँग वार्ता अघि बढाउने र युद्ध अन्त्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने सरकारको निर्णयको बचाउ गरे।

उनले अमेरिकाले समझदारीपत्रमा उल्लेखित प्रतिबद्धता पूरा गरेसम्म इरान पनि आफ्ना दायित्वप्रति प्रतिबद्ध रहने बताए। तर अमेरिकाले प्रतिबद्धता पूरा नगरे इरान पनि सम्झौताप्रति बाध्य नहुने उनको भनाइ छ।

यसैबीच, पेजेस्कियानले आफूले राजीनामा दिने हल्ला अस्वीकार गर्दै आफ्नो जिम्मेवारी निरन्तर पूरा गर्ने बताएका छन्। समझदारीपत्रलाई लिएर इरानी नेतृत्वभित्र मतभेद रहेको चर्चा भइरहेका बेला उनको यस्तो भनाइ आएको हो।

गत जुनमा इरान र अमेरिकाबीच भएको समझदारीअनुसार अन्तिम सम्झौताका लागि ६० दिनभित्र वार्ता गर्ने सहमति भएको थियो। तर पछिल्लो समय दुवै देशबीच पुनः तनाव बढेपछि वार्ताको भविष्य अनिश्चित बनेको छ।

प्रतिकृया दिनुहोस