कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ । यसअघि मंगलबार पनि बैठक बसेको थियो ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए ।

महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने दुलालले जानकारी दिए ।

बैठकको कार्यसूचीमा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय समेटिएका छन् ।

त्यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ । बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ ।

मङ्गलबार दिउँसो बसेको बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस
↑