प्रधानमन्त्री शाहले आज भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दैछन्। भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले बिहान ११ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग भेट गर्ने कार्यक्रम छ।

त्यसपछि बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा अयोध्यादेखि जनकपुरसम्म रेल सेवा सञ्चालन र धार्चुलादेखि दार्चुलासम्म मोटरेबल पुल निर्माणलगायत विषयमा छलफल हुने तयारी छ।

वार्तापछि दुवै प्रधानमन्त्रीले विभिन्न परियोजनाको भर्चुअल उद्घाटन गर्नेछन्। साथै, दुई देशबीच समझदारीपत्र तथा सम्झौतापत्र आदानप्रदान गरी संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्। त्यसपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नेछन्।

भ्रमणका सबै कार्यक्रम सकेर प्रधानमन्त्री शाह आज अपराह्न ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह आइतबार दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका थिए। भ्रमणकै क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए।

प्रतिकृया दिनुहोस
↑