धनुषामा १९ जोडीको दाइजोमुक्त विवाह, १०७ जनाद्वारा रक्तदान
धनुषा। धनुषास्थित सतलोक आश्रममा आयोजित ५१३औँ दिव्य धर्म यज्ञ दिवसअन्तर्गत तीनदिने महासमागमको आज दोस्रो दिन दाइजोमुक्त विवाह तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
भारतीय धार्मिक गुरु सन्त रामपालजी महाराजको प्रेरणामा आयोजित महासमागम नेपालको धनुषास्थित सतलोक आश्रमसहित भारतका १४ वटा आश्रममा एकैसाथ सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार नेपालका पाँच, भारतको बिहारका १२ तथा पश्चिम बङ्गाल र उत्तर प्रदेशका एक–एक गरी कुल १९ जोडीको दाइजोमुक्त विवाह सम्पन्न भएको छ। दाइजो, भोजभतेर तथा अनावश्यक तडकभडकबिना १७ मिनेटको ‘असुर निकन्दन रमैणी’ नामक धार्मिक विधिमार्फत विवाह सम्पन्न गरिएको हो।
दाइजो प्रथा अन्त्य, विवाहमा हुने अनावश्यक खर्च न्यूनीकरण तथा सामाजिक समानता प्रवर्द्धन गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ।
त्यसैगरी, महासमागमअन्तर्गत आयोजित रक्तदान शिविरमा १०७ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। धार्मिक कार्यक्रमसँगै आयोजना गरिएका यस्ता सेवामूलक गतिविधिले सामाजिक सुधार, मानवीय सहयोग र आपसी सद्भावको सकारात्मक सन्देश दिएका छन्।

महासमागममा आध्यात्मिक प्रदर्शनी, निःशुल्क भण्डारा, सत्सङ्ग, अखण्ड ज्योति यज्ञ, सन्त गरीबदास महाराजको अमर ग्रन्थ साहेबको अखण्ड पाठ तथा निःशुल्क नामदीक्षालगायतका गतिविधि सञ्चालन भइरहेका छन्।
तीनदिने महासमागमको भोलि तेस्रो तथा अन्तिम दिन विभिन्न आध्यात्मिक गतिविधिसहित समारोह समापन गरिनेछ।






प्रतिकृया दिनुहोस