मकवानपुरमा गाँजासहित चार जना पक्राउ

मकवानपुरमा प्रतिबन्धित लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्सिर ७ गते दुई छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–९, कुखरेनीबाट मोटरसाइकलमा सवार दुई जनालाई ९२० ग्राम गाँजाको धुलो जस्तो (पोलार) पदार्थसहित पक्राउ गरिएको छ।

बा.प्र. ०२-०५० प ६१३२ नम्बरको मोटरसाइकलमा सवार हेटौँडा–१३ बस्ने २१ वर्षीय जोसु तामाङ र हेटौँडा–१४ बस्ने २३ वर्षीय अमन तामाङलाई शङ्का लागेर खानतलासी गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै, भीमफेदी गाउँपालिका–१, टौबास कोलनीबाट थप दुई जना गाँजासहित पक्राउ परेका छन्। बा.प्र. ०२-०५७ प ०७६३ नम्बरको मोटरसाइकलमा सवार धादिङको गजुरी गाउँपालिका–८ बस्ने २१ वर्षीय अमिर तामाङ र १९ वर्षीय समर बलको साथबाट तीन किलो २१० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर बरामद लागूऔषधसहित आवश्यक कारबाही तथा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस
↑