नारायणघाट–बुटवल सडकको डिभाइडरमा दुबो रोप्न सुरु
चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ। करिब ११३ किलोमिटर लम्बाइको सडकको बीचमा रहेको तीन मिटर चौडाइको डिभाइडरमा दुबो रोप्ने काम तीव्र रूपमा भइरहेको छ।
नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गैँडाकोट, देवचुली, कावासोतीलगायत विभिन्न स्थानका डिभाइडरमा दुबो रोप्ने काम भइरहेको छ। सडक विस्तार योजनाअन्तर्गत कालोपत्र गर्ने काम लगभग सकिएको छ। अब सडक किनारका सर्भिस लेन, डिभाइडरमा रङरोगन गर्ने, बीचको डिभाइडरमा दुबो रोप्ने र सडक सुन्दर देखाउने बिरुवा लगाउने काम भइरहेको खनालले जानकारी दिए।
विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहले नवलपुरको गैँडाकोटमा शिलान्यास गरेर सुरु गरेको पूर्वपश्चिम राजमार्ग करिब ६५ वर्षपछि चार लेनमा विस्तार भएको हो। नारायणघाट–बुटवल सडक विस्तारका लागि २०७५ माघमा ठेक्का सम्झौता भएको थियो। सोही वर्षको चैतमा सडकको शिलान्यास भएपछि विस्तारको काम सुरु भएको थियो।
सम्झौता भएको मितिले ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको सडक विस्तारको काममा विभिन्न समयमा चार पटक म्याद थप गरिएको थियो। करिब आठ वर्ष लगाएर गत साउनमा सडक विस्तारको काम पूरा भएको सूचना अधिकारी खनालले बताए।
‘सडकको लगभग काम सकिएपछि हामीले साउनमा टेकओभर गरिसकेका छौँ। सडक टेकओभर मात्र भएको हो, हस्तान्तरण भने भएको छैन। सडक टेकओभरपछि पाँच वर्षसम्म निर्माण कम्पनीले त्रुटि सच्याउने काम गर्छ। त्यसपछि मात्रै हस्तान्तरण हुन्छ’, सूचना अधिकारी खनालले भने।
सडक निर्माणका क्रममा विभिन्न त्रुटि देखिन सक्ने भएकाले पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत गर्नुपर्ने गरी परीक्षण अवधि राखिएको उनले बताए।
सडकको कालोपत्र तथा ढलान गर्नुपर्ने मुख्य काम सकिएपछि अहिले त्रुटि सच्याउने, पैदलयात्रीका लागि पेटी तयार पार्ने, सडक किनारमा रेलिङ राख्ने र ढलान गर्ने काम भइरहेको छ। दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको दुवै खण्डको काम चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले ग्लोबल टेन्डरमार्फत पाएको हो।
गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्ड (६५ किलोमिटर) र दाउन्नेदेखि बुटवलसम्मको पश्चिम खण्ड (४८ किलोमिटर) गरी सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। सडक विस्तारका लागि करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ।
कुल बजेटको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी)ले १.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको छ। नारायणघाट–बुटवलको ११३ किलोमिटर सडक विस्तारअन्तर्गत ७० किलोमिटर चार लेन, २९ किलोमिटर छ लेन (चार लेनसहित दुवैतर्फ अतिरिक्त सर्भिस लेन) र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनमा सडक निर्माण गरिएको छ। बजार क्षेत्र, समथर भूभाग र पहाडी क्षेत्रको भौगोलिक तथा यातायात आवश्यकताअनुसार सडकको डिजाइन फरक बनाइएको आयोजनाले जनाएको छ।
ग्रामीण तथा वन क्षेत्रमा सडक चार लेनमा विस्तार गरिएको छ भने सहरी क्षेत्रमा छ लेनमा विस्तार गरिएको छ। दाउन्नेका भौगोलिक रूपमा कठिन क्षेत्रमा तीन लेनमा सडक निर्माण गरिएको हो। यसका अतिरिक्त सडकमा लेन मार्किङ, ट्राफिक सङ्केत, गति सीमा सङ्केत तथा निगरानीका लागि स्पिड गन प्रयोग गर्ने व्यवस्था गरिएको छ। सडक विस्तारपछि सवारीसाधनको गति बढ्ने भएकाले दुर्घटना न्यूनीकरण गर्न गति सीमा तोकिएको सूचना अधिकारी खनालले जानकारी दिए।
खनालका अनुसार सिधा तथा खुला सडकमा अधिकतम गति सीमा ८० किलोमिटर प्रतिघण्टा, बजार क्षेत्र तथा क्रसिङ क्षेत्रमा ६० किलोमिटर प्रतिघण्टा र जङ्गली क्षेत्र तथा दाउन्नेको पहाडी क्षेत्रमा ४० किलोमिटर प्रतिघण्टा तोकिएको छ।
दाउन्ने क्षेत्रको पहाडमा पटक–पटक कालोपत्र गरिएको सडक बिग्रने र भासिने समस्या देखिएपछि करिब ११ किलोमिटर क्षेत्रमा सिमेन्ट कङ्क्रिट गरिएको छ। गैँडाकोटदेखि बुटवलसम्म करिब ११३ किलोमिटर सडक विस्तारका क्रममा ४९ हजार ८३० वटा रूख काटिएका थिए।
सडक चार लेनमा विस्तार भएसँगै यस क्षेत्रमा २१ वटा ठूला पुल, ४३ वटा साना पुल तथा सडकको पानी निकासका लागि ४६ वटा कल्भर्ट (नाली) निर्माण गरिएको छ। सडक विस्तारका क्रममा साना पुल तथा कल्भर्ट चार लेनमा निर्माण गरिएको छ भने ठूला पुल पुराना पुलको दक्षिणतर्फ दुई लेनमा बनाइएको छ। पुराना पुलको आवश्यकता र प्राविधिक अवस्थाअनुसार स्तरोन्नति तथा प्रतिस्थापन गरिएको सूचना अधिकारी खनालले बताए।





प्रतिकृया दिनुहोस