बाढी प्रभावित विद्यार्थीलाई त्रिविले पाँच वर्षसम्म शुल्क मिनाहा गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीलाई विभिन्न शीर्षकका शुल्क मिनाहा गर्ने निर्णय गरेको छ।

त्रिविको वार्षिक तथा सेमेस्टर प्रणालीअन्तर्गत अध्ययनरत र आगामी शैक्षिक सत्रमा नयाँ भर्ना हुन चाहने बाढी प्रभावित विद्यार्थीले सम्बन्धित स्थानीय तहको सिफारिस पेस गरेमा शुल्क मिनाहा पाउनेछन्।

त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार धरौटी र परीक्षा शुल्क तथा त्रिवि रजिस्ट्रेसन शुल्कबाहेकका शुल्क मिनाहा गरिनेछ। यसका लागि त्रिविले सम्पूर्ण क्याम्पस, केन्द्रीय विभाग तथा केन्द्रहरूलाई आवश्यक निर्देशन दिइसकेको छ।

त्रिविका अनुसार क्याम्पस प्रवेश, शिक्षण, परिचयपत्र, खेलकुद, प्रयोगशाला, पुस्तकालय, छात्रावास, जरिबाना, शोधपत्र, विविधलगायत १६ शीर्षकका शुल्क मिनाहा हुनेछन्।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका विद्यार्थीले उक्त सुविधा पाउनेछन्।

तोकिएको शैक्षिक सत्रमा भर्ना भई अध्ययन गरिरहेका तथा आगामी शैक्षिक सत्रमा भर्ना हुन योग्यता पुगेका विद्यार्थीले यो सुविधा प्राप्त गर्नेछन्। त्रिविका अनुसार शुल्क मिनाहा सम्बन्धी व्यवस्था आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्म लागू हुनेछ।

प्रतिकृया दिनुहोस
↑