दक्ष प्यारापाइलट उत्पादन गर्न पोखरामा खुल्यो स्कुल
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ ।
पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिब तीन दशकपछि दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक स्थापना गरिएको यस स्कुलले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादनमा योगदान गर्नेछ ।
पोखरा साहसिक पर्यटनको विश्वप्रसिद्ध गन्तव्य हो । पोखरामा प्याराग्लाइडिङ पर्यटनलाई थप व्यवस्थित र विस्तार गर्ने उद्देश्यसहित एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा रिभानस्थित मैँचेडाँडामा बिहीबारदेखि स्कुल सञ्चालनमा ल्याएको हो ।
पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु भएको लामो समय बितिसक्दा पनि दक्ष पाइलट उत्पादन गर्ने औपचारिक प्रशिक्षण स्कुलको थिएन ।
प्याराग्लाइडिङका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीले एक करोड ५० लाख लगानीमा स्कुल स्थापना गरेका हुन् । प्रशिक्षण केन्द्रका लागि अझै काम बाँकी रहेकाले लगानी अझै बढ्ने बताइन्छ ।
स्कुलका सञ्चालक विजय गौतमका अनुसार रिभानस्थित मैँचेडाँडाबाट उडान भरी मर्दीखोलाको किनारमा रहेको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ ।
समुद्री सतहबाट एक हजार ६८० मिटरको उचाइमा रहेको मैँचेडाँडा प्याराग्लाइडिङ उडानका लागि उपयुक्त स्थान मानिएको छ ।
यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखलासँगै माछापुच्छ्रे गाउँपालिकाका लाहाचोक, ल्वाङ, अस्तामलगायत पर्यटकीय क्षेत्र तथा पोखरा उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
“हिमालको सुन्दर दृश्यसँगै उडानको अनुभव लिन सकिने भएकाले रिभानलाई प्याराग्लाइडिङ स्कुलका लागि छनोट गरेका हौँ । लामो प्रक्रियापछि यो सम्भव भएको हो । यसबाट विशेषगरी दक्ष पाइलट उत्पादनमा सहयोग पुग्नेछ भने आगामी दिनमा व्यावसायिक उडानको समेत ढोका खुल्नेछ”, सञ्चालक गौतमले भने ।
स्कुलले प्रारम्भिक १५ दिने तालिमदेखि इन्टरमिडियट, क्रस कन्ट्री तथा टेन्डमका टी–वान र टी–टु तहसम्मका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । एक सत्रमा ६ जनालाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको गौतमले जानकारी दिए ।
हाल पोखरामा ५४ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । ४०० जनाले पाइलटको लाइसेन्स लिएकामा २५० जना विभिन्न कम्पनीमा कार्यरत रहेको नेपाल हवाई खेलकुद संस्था (ना)का पूर्वअध्यक्ष कृष्ण भण्डारीले बताए । पोखराको प्याराग्लाइडिङ हाल सराङकोबाट सञ्चालन हुँदै आएको छ ।
प्याराग्लाइडिङका लागि अन्तर्राष्ट्रियस्तरमा परिचित पोखरामा पाइलट उत्पादन गर्ने प्रशिक्षण स्कुल स्थापना हुनु यस क्षेत्रको दीर्घकालीन विकासका लागि महत्वपूर्ण उपलब्धि भएको भण्डारीको भनाइ छ । रासस

_hBN2nkpbIB.jpeg)



प्रतिकृया दिनुहोस