बढी मूल्यमा ग्यास बिक्री गर्ने स्टोरलाई २ लाख जरिवाना
तोकिएभन्दा बढी मूल्यमा खाना पकाउने एलपीजी ग्यास सिलिन्डर बिक्री गर्ने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।
उपभोक्ताले ‘हेलो सरकार’ को वेब पोर्टलमार्फत ग्यासको मूल्य बढी लिएको भन्दै गुनासो दर्ता गराएका थिए। सोही गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको टोलीले सम्बन्धित स्टोरमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा कैफियत भेटिएपछि स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हेलो सरकारले जनाएको छ। साथै, गुनासो गर्ने उपभोक्ता र तत्काल कारबाही अघि बढाउने विभागलाई हेलो सरकारले धन्यवाद दिएको छ।
सरकारले उपभोक्ता ठगी वा सार्वजनिक सेवा प्रवाहमा समस्या भए निःशुल्क फोन नम्बर ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो गर्न आग्रह गरेको छ।





प्रतिकृया दिनुहोस