वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश सभाको चुनाव गर्ने प्रस्ताव

निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश सभा निर्वाचन गर्ने प्रस्ताव गरेको छ।

शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले प्रस्तावित निर्वाचन तालिका प्रस्तुत गरेको हो।

छलफलमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगको प्रस्ताव उपयुक्त रहेको प्रतिक्रिया दिएका छन्। यद्यपि, पार्टीभित्र थप छलफल र अध्ययनपछि मात्रै अन्तिम धारणा बनाउने उनले बताएका छन्।

छलफलमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापालगायतका नेताहरू सहभागी थिए। एमाले अध्यक्ष केपी शर्मा ओली पनि आयोग पुगेका थिए। तर उनले पार्टीका निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएका थिए।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रदेश सभा निर्वाचन भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते समाप्त हुँदैछ।

सोही समयसीमालाई ध्यानमा राख्दै आयोगले आगामी निर्वाचनको तयारी तथा तालिकाबारे राजनीतिक दलहरूसँग परामर्श थालेको हो।

प्रतिकृया दिनुहोस
↑