फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल पुग्ने दोस्रो टोलीको टुंगो आज लाग्दैछ । दोस्रो क्वालिफायरमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ । दुवै टोलीका लागि यो खेल फाइनल प्रवेश गर्ने अन्तिम अवसर हो ।

प्रतियोगिताको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्नुपरेको हो । उक्त खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १०६ रनको लक्ष्य लुम्बिनीले चार विकेटको क्षतिमा २० बल बाँकी छँदै पूरा गरेको थियो । जितसँगै लुम्बिनीले उपाधि भिडन्तमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

अर्कोतर्फ, चितवनले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई स्तब्ध पार्दै अर्को चरणको यात्रा तय गरेको हो । बुधबार सम्पन्न खेलमा चितवनले काठमाडौंलाई ६१ रनको फराकिलो अन्तरले पछि पारेको थियो । पराजयसँगै काठमाडौंको उपाधि यात्रामा पूर्णविराम लागेको छ ।

अब आजको प्रतिस्पर्धामा बाजी मार्ने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।

प्रतिकृया दिनुहोस
↑