आज कर्णालीसंग सुदूरपश्चिम र चितवनसंग पोखरा भिड्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
तीन खेल खेलेको कर्णाली याक्स २ जित र १ हारसहित अंक तालिकाको तेस्रो स्थानमा छ । प्रतियोगिताको पहिलो खेलमा काठमाडौंसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा विराटनगर र तेस्रो खेलमा जनकपुरलाई हराएको थियो ।
यता, सुदूरपश्चिम रोयल्स चार खेलबाट २ जित र २ हारसहित अंक तालिकाको छैटौं स्थानमा छ । पहिलो खेलमा चितवनलाई हराएको सुदूरपश्चिम दोस्रो खेलमा विराटनगरसँग पराजित भएको थियो । तेस्रो खेलमा पोखरालाई हराएको उसले चौथो खेलमा भने लुम्बिनीसँग हार बेहोरेको थियो ।
यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।
चितवन तीन खेलबाट १ जित, १ हार र वर्षाका कारण १ खेल रद्द भएपछि बराबरी अंकसहित तालिकाको सातौं स्थानमा छ । पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको चितवनको लुम्बिनीसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा भने चितवनले विराटनगरलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो ।
अंक तालिकाको पुछारमा रहेको पोखरा एभेन्जर्सले भने हालसम्म खेलेका तीनवटै खेल गुमाएको छ । पहिलो खेलमा लुम्बिनी, दोस्रोमा जनकपुर र तेस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा आज चितवनलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।





प्रतिकृया दिनुहोस