सिनर्जी एफएम २६औँ वर्षमा प्रवेश

चितवन, कात्तिक २६। चितवनको पहिलो रेडियो सिनर्जी एफएम ९१.६ मेगाहर्जले गौरवमय २५ वर्ष पूरा गरी आजदेखि २६औँ वर्षमा प्रवेश गरेको छ।

वि.सं. २०५८ साल कात्तिक २६ गते चितवनको भरतपुरबाट प्रसारण सुरु गरेको सिनर्जी एफएमले सूचना, समाचार र मनोरञ्जनका माध्यमबाट आफ्नो २५ वर्षे यात्रा पूरा गरेको हो।

यस अवसरमा एफएमका प्रबन्ध निर्देशक सहन प्रधानले रेडियोको २५ वर्षे यात्रामा निरन्तर साथ, माया र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण श्रोता, विज्ञापनदाता, साझेदार, शुभचिन्तक तथा सहकर्मीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।

उहाँले श्रोता तथा शुभचिन्तकहरूको साथ र विश्वासलाई आत्मसात् गर्दै आगामी दिनमा पनि निष्पक्ष, विश्वसनीय र जनउत्तरदायी सञ्चारमाध्यमका रूपमा अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

स्थापनाकालदेखि नै चितवनसहित आसपासका क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा आफ्नो भूमिका निर्वाह गर्दै आएको सिनर्जी एफएमले आम नागरिकका आवाज, समस्या र सरोकारलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।


बदलिँदो प्रविधि र सञ्चार क्षेत्रको विकाससँगै सिनर्जी एफएमले समयानुकूल समाचार, सूचनामूलक तथा मनोरञ्जनात्मक सामग्री उत्पादन र प्रसारण गर्दै आएको छ।  

रेडियो प्रसारणसँगै डिजिटल माध्यमलाई समेत उपयोग गर्दै विभिन्न वर्ग र उमेर समूहका दर्शक तथा श्रोताको रुचि र आवश्यकताअनुसार श्रव्यदृश्य सामग्री उत्पादन तथा सम्प्रेषणलाई निरन्तरता दिँदै आएको छ।

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी रेडियो तथा डिजिटल माध्यममार्फत समयानुकूल सामग्री प्रस्तुत गर्दै आम नागरिकको साझा आवाजका रूपमा अघि बढ्ने प्रतिबद्धता एफएमले जनाएको छ।

प्रतिकृया दिनुहोस
↑