युवालाई निःशुल्क एआई तालिम दिँदै सरकार
सरकारले युवाहरूलाई ‘एआई’ सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयमा आगामी कात्तिक १८ र १९ गते तालिम सञ्चालन गर्न लागिएको हो ।
तालिम बिहान १० देखि १२ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म गरी चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन हुनेछ । प्रत्येक सहभागीलाई चारमध्ये कुनै एक सत्रमा सहभागी गराइनेछ । प्रतिसत्र ५०० जनाका दरले कुल २ हजार जनाले तालिम लिन सक्नेछन् ।
तालिममा च्याटजीपीटी, क्लडलगायतका एआई उपकरणको प्रभावकारी प्रयोग, स्पष्ट र उपयोगी प्रम्प्ट लेखन तथा एआईको सहयोगमा व्यावसायिक इमेल, टिपोट, बैठकका निर्णय र आकर्षक प्रस्तुतीकरण तयार गर्ने सीप सिकाइनेछ । साथै, तस्बिर तथा छोटा भिडियो निर्माण, एआईको जिम्मेवार प्रयोग र एआईबाट प्राप्त जानकारीको सत्यता परीक्षण गर्ने विधिसमेत समेटिनेछ ।
युवाहरूलाई अध्ययन, रोजगारी तथा व्यावसायिक गतिविधिमा एआई प्रविधिको सही प्रयोग गर्न आवश्यक सीप प्रदान गर्ने लक्ष्य मन्त्रालयले लिएको छ । अनलाइन माध्यमबाट प्रत्यक्ष तालिम सञ्चालन गर्नु मन्त्रालयका लागि नयाँ अभ्याससमेत हो । यस कार्यक्रमबाट प्राप्त अनुभवले आगामी दिनमा सञ्चालन गरिने अनलाइन तथा सीपमूलक कार्यक्रमहरूको पहुँच र प्रभावकारिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले एआईसम्बन्धी ज्ञान र सीप केही व्यक्तिमा मात्र सीमित हुन नहुने बताएका छन् । प्रविधिको विकाससँगै यसबाट सिर्जना हुने अवसर देशभरका सबै युवाको पहुँचमा पुग्नुपर्ने उनको भनाइ छ ।
आगामी दिनमा अनलाइन तथा भौतिक दुवै माध्यमबाट थप उन्नतस्तरका तालिम सञ्चालन गरी देशभरका धेरै युवालाई एआई प्रविधिमा दक्ष र सक्षम बनाउने लक्ष्य रहेको मन्त्री यादवले बताएका छन् ।
तालिममा सहभागी हुन इच्छुक युवाहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । छनोट भएका आवेदकलाई कुन सत्रमा सहभागी गराइने भन्ने जानकारी तालिम सुरु हुनुअघि उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ ।





प्रतिकृया दिनुहोस