पीएचपीमा सुरक्षा जोखिमपछि सरकारी वेबसाइट अझै बन्द
पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि बिहीबारदेखि बन्द गरिएका सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् ।
विश्वभर वेबसाइट तथा वेब एप्लिकेसन निर्माणमा प्रयोग हुने पीएचपीमा दुईवटा गम्भीर सुरक्षा कमजोरी पत्ता लागेपछि नेपालका सरकारी तथा वित्तीय निकायका वेबसाइटहरू पनि प्रभावित भएका हुन् । जोखिम पहिचान भएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले तत्काल सुरक्षा प्रणाली अद्यावधिक गर्न र जोखिम व्यवस्थापन नभएसम्म सावधानी अपनाउन आग्रह गर्दै सुरक्षा एड्भाइजरी जारी गरेको थियो ।
केन्द्रको एड्भाइजरीपछि बिहीबारदेखि नै अधिकांश सरकारी तथा सार्वजनिक निकायका वेबसाइटहरू सम्भावित साइबर जोखिमबाट जोगिन अस्थायी रूपमा बन्द गरिएका हुन् । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले समस्या समाधानका लागि प्रयास भइरहेको जनाएको छ ।
शनिबारसम्म सार्वजनिक बिदा भएकाले वेबसाइट बन्द हुँदा तत्काल ठूलो असर नपरे पनि समस्या लम्बिएमा लाइसेन्स, राहदानी, राजस्व संकलनलगायत नागरिकसँग प्रत्यक्ष जोडिएका अनलाइन सेवाहरू प्रभावित हुन सक्ने जोखिम छ । हाल धेरै सरकारी तथा गैरसरकारी संस्थाका वेबसाइटसमेत खुल्न सकेका छैनन् ।
नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्र्याकिङ सिस्टम (भीटीएस) लगायतका प्रमुख सरकारी तथा वित्तीय निकायका वेबसाइटहरू बन्द छन् । सम्भावित साइबर आक्रमणबाट बच्न र सुरक्षा प्रणाली सुदृढ बनाउन वेबसाइटहरू अस्थायी रूपमा बन्द गरिएको जनाइएको छ ।
यसैबीच, नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक (पीएसपी), वालेट कम्पनी र रेमिट्यान्स कम्पनीहरूलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।
बैंकका वेबसाइटहरू बन्द भए पनि क्यूआर भुक्तानी र मोबाइल बैंकिङलगायत सेवा भने सञ्चालनमा छन् । जोखिमको अवस्था मूल्याङ्कनपछि केही बैंकले आफ्ना वेबसाइट पुनः सञ्चालनमा ल्याइसकेका छन् । वेबसाइट बन्द हुँदा ग्राहकलाई ब्याजदर, सेवा शुल्क, शाखा तथा एटीएमको विवरण, कर्जा योजना र वित्तीय विवरणजस्ता सार्वजनिक सूचना प्राप्त गर्न कठिनाइ भएको छ ।
साइबर सुरक्षा विज्ञहरूले यस्तो अवस्थामा शंकास्पद सन्देश तथा लिंकबाट सावधान रहन र अपरिचित स्रोतबाट प्राप्त लिंक नखोल्न सुझाव दिएका छन् ।
पीएचपी वेबसाइट र वेब एप्लिकेसन निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो । यसमा देखिएका सुरक्षा कमजोरीलाई सम्बोधन गर्न प्रणाली अद्यावधिक गर्नुपर्ने भएकाले जोखिम नियन्त्रणका लागि विभिन्न निकायले आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका हुन् ।





प्रतिकृया दिनुहोस