३० एमबीपीएस इन्टरनेट प्याकेजबारे भ्रममा नपर्न टेलिकमको आग्रह
नेपाल टेलिकमले ३० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्य र स्वीकृतिबारे प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भ्रममा नपर्न आग्रह गरेको छ ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ४ हजार ९९९ रुपैयाँको ३० एमबीपीएस इन्टरनेट प्याकेजबारे केही सञ्चारमाध्यममा तथ्यभन्दा फरक समाचार प्रकाशित तथा प्रसारित भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत असोज ३० गते इन्टरनेट सेवा प्रदायकहरूले अनुमति पत्रका सर्तविपरीत काम गरेको विषयमा जारी गरेको विज्ञप्तिलाई आधार बनाएर भ्रामक समाचार आएको टेलिकमको दाबी छ ।
टेलिकमका अनुसार उक्त प्याकेज स्वीकृतिका लागि कम्पनीले यसअघि नै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै आएको छ । असोज ३० गते अफरका रूपमा सञ्चालनमा ल्याइएको प्याकेजबारे पनि प्राधिकरणलाई जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ । उक्त प्याकेज विद्यार्थी अफरका रूपमा सञ्चालन गरिएको विषयमा समेत जानकारी दिइएको टेलिकमले जनाएको छ ।
टेलिकमले ३० एमबीपीएसको एकवर्षे इन्टरनेट प्याकेज तथा ४ हजार ९९९ रुपैयाँको प्याकेजको स्वीकृति र सञ्चालनबारे सञ्चारमाध्यममा आएका समाचारका कारण भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
नेपाल सरकारको स्वीकृत नीति तथा कानुनको परिधिभित्र रहेर काम गरिरहेको उल्लेख गर्दै टेलिकमले कानुनको पालना गर्न आफू सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
.jpg)





प्रतिकृया दिनुहोस