त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापनका लागि ‘लाइभ फिड’ सेवा सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले अब आफ्नो ब्यागेज व्यवस्थापन भइरहेको दृश्य प्रत्यक्ष हेर्न सक्ने भएका छन् ।

ब्यागेज व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले विमानस्थलले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराएको हो ।

नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले विमानबाट सामान झारिएदेखि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियालाई प्रत्यक्ष हेर्न सक्नेछन् । यसले आफ्नो सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न लाग्ने समयबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन । सामानको प्रतीक्षामा यात्रु अन्योलमा पर्ने तथा ब्यागेज व्यवस्थापन प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा असहजता हुने गरेको थियो ।

नयाँ व्यवस्थासँगै आगमन कक्षमै ब्यागेज ड्रप क्षेत्रमा भइरहेका गतिविधि हेर्न सकिने भएपछि यात्रुको प्रतीक्षा प्रक्रिया सहज र व्यवस्थित हुने विश्वास गरिएको छ ।

यस व्यवस्थाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रवाहमा पारदर्शिता बढाउनुका साथै यात्रु सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत विमानस्थललाई थप प्रभावकारी र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने प्रयासका रूपमा यसलाई हेरिएको छ ।

प्रतिकृया दिनुहोस
↑