आजदेखि तिहार सुरु, धनतेरस र यमदीपदान मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ । तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान मनाइँदैछ ।

विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने धनतेरस पछिल्ला केही वर्षयता काठमाडौं उपत्यकासहित देशका अन्य भागमा पनि मनाउने प्रचलन बढ्दै गएको छ । धनतेरसका अवसरमा बेलुकी घरघरमा दीप प्रज्वलन गरी धातुका नयाँ भाँडाकुँडा तथा गरगहना किनेर पूजा गर्ने परम्परा छ ।

धनतेरससँगै आज यमदीपदान पनि गरिन्छ । त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ ।

त्यस्तै, पर्सि कात्तिक २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा मनाइनेछ । कात्तिक २३ गते गाईपूजा हुनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिनदेखि नेपाल संवत् ११४७ पनि सुरु हुनेछ ।

यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

प्रतिकृया दिनुहोस
↑