करिव दुई लाख बढी विद्यार्थीको विवरण दोहोरिएपछि छानबिन

विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ ।

प्रणालीमा ठूलो संख्यामा विद्यार्थीको विवरण दोहोरिएको विषयलाई गम्भीर रूपमा लिँदै मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरेको हो ।

मन्त्रालयका अनुसार समितिले दोहोरो विवरण देखिनुको कारण पहिचान गर्नुका साथै यसमा प्राविधिक त्रुटि वा नियतवश गरिएको बदमासी भए/नभएकोबारे अध्ययन गर्नेछ । साथै, सत्यतथ्य पत्ता लगाई दोषीमाथि आवश्यक कारबाही गर्न सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ ।

मन्त्रालयको खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य रहेका छन् । विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

अनौपचारिक अध्ययनअनुसार इएमआईएसमा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको छ । यसरी दोहोरो विवरणका आधारमा राज्यकोषबाट वितरण हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोसाक, पाठ्यपुस्तक लगायतका सेवा तथा सुविधाको दुरुपयोग भएको हुन सक्ने आशंका मन्त्रालयले गरेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताउँदै छानबिनपछि दोषीमाथि कारबाही गरिने जानकारी दिएका छन् ।

गलत तथ्याङ्क पेस गरी राज्यकोषको दुरुपयोग गरेको पाइएमा सम्बन्धित विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिमाथि हदैसम्मको कारबाही गर्न समितिलाई सिफारिस गर्ने कार्यादेश दिइएको छ ।

मन्त्रालयले प्रणालीमा रहेका दोहोरो तथा फर्जी विवरण हटाई इएमआईएसलाई पारदर्शी, सुरक्षित र वास्तविक तथ्याङ्कमा आधारित बनाउने उद्देश्यले छानबिन अघि बढाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑