एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय युवक पक्राउ
नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका भारतको बिहार राज्यअन्तर्गत भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन्।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलका खेलमा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गर्ने तथा गराउने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
सोही क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सिन्हालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।
पक्राउ परेका सिन्हालाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।





प्रतिकृया दिनुहोस