छ महिनामै त्रिविको अतिक्रमित ७०५ रोपनी जग्गा फिर्ता

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अतिक्रमित तथा अनधिकृत रूपमा प्रयोग हुँदै आएको ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लो छ महिनाको अवधिमा काठमाडौँ उपत्यकाभित्र मात्रै त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याउन सफल भएको बताएका छन् ।

मन्त्री पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै त्रिविको जग्गा संरक्षण र अतिक्रमित सम्पत्ति फिर्ता ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको थियो ।

मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै अतिक्रमित तथा अनधिकृत रूपमा प्रयोग भइरहेका विश्वविद्यालयका जग्गा खाली गराउन निर्देशन दिएको उनले उल्लेख गरेका छन् । सोहीअनुसार त्रिवि प्रशासनले सम्बन्धित पक्षलाई पत्राचार गरेको थियो ।

त्रिवि प्रशासनसँगको निरन्तर समन्वय, दृढ इच्छाशक्ति र प्रशासनिक पहलका कारण छोटो अवधिमै जग्गा फिर्ता ल्याउन सफल भएको मन्त्री पोखरेलको भनाइ छ ।

फिर्ता ल्याइएको जग्गा विश्वविद्यालयको शैक्षिक वातावरण सुधार, गुणस्तरीय शिक्षा प्रदान तथा आगामी दिनमा अत्याधुनिक अनुसन्धान केन्द्र र शैक्षिक पूर्वाधार निर्माणमा उपयोग गरिने उनले बताएका छन् ।

विश्वविद्यालयको सम्पत्तिको संरक्षण गर्दै त्यसलाई त्रिविकै हितमा प्रयोग गर्ने सरकारको उद्देश्य रहेको मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस
↑