तिहारका पाँच दिन अधिकांश स्थानको मौसम सफा रहने

यस वर्ष तिहारका पाँचै दिन देशभरको मौसममा ठूलो उतारचढाव नदेखिने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तिहार अवधिमा पश्चिमी वायुको सामान्य प्रभाव रहने भए पनि अधिकांश स्थानमा मौसम अनुकूल रहने अनुमान गरिएको छ।

महाशाखाले बुधबार विशेष मौसम बुलेटिन जारी गर्दै काग तिहारदेखि भाइटीकासम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको हो।

महाशाखाका अनुसार तिहारका समयमा हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

कुन दिन कस्तो रहनेछ मौसम ?

शनिबार (काग तिहार) : हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र र देशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्न सक्छ।

आइतबार (लक्ष्मीपूजा) : हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थान तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ भने बिहान केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्छ।

सोमबार (औँसी) : हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ भने तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्न सक्छ।

मंगलबार (गोवर्धन पूजा) : हिमाली तथा पहाडी भूभाग र कोसी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। बिहान तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्छ।

बुधबार (भाइटीका) : हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्न सक्छ।

प्रतिकृया दिनुहोस
↑