रुसी बमबारीमा युक्रेनको सहायता केन्द्रमा २६ जनाको मृत्यु
दक्षिणी युक्रेनको जापोरेजिया क्षेत्रस्थित एक मानवीय सहायता वितरण केन्द्रमा रुसले गरेको भीषण बमबारीमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई अत्यन्तै विभत्स भन्दै कडा शब्दमा निन्दा गरेको बीबीसीले जनाएको छ ।
जापोरेजिया क्षेत्रका प्रमुख माइखाइलो सेमिखिनका अनुसार, कमिसुभाखा गाउँमा कम्तीमा ९ वटा ३ हजार किलोग्राम तौलका हवाई बमहरू खसालिएका थिए। आक्रमणमा ५ जना घाइते भएका छन् भने शुरूमा २७ जना बेपत्ता भएको विवरण प्राप्त भएको थियो।
राष्ट्रपति जेलेन्स्कीका अनुसार मानवीय आवश्यकताका लागि प्रयोग मानिसहरूले आश्रय लिइरहेको स्थानलाई लक्षित गरी दोस्रो प्रहार गरिएको थियो । उनले सामाजिक सञ्जालमा सोमबारको आक्रमणपछि बनेको ठूलो खाडल र भग्नावशेषमा उद्धार टोलीहरूले खोजतलास गरिरहेको भिडियो सार्वजनिक गरेका छन्। रुसी सेनाले भने आक्रमणबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन।
यसअघि, अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको अस्थायी युद्धविरामका क्रममा रुसी कब्जामा रहेको दक्षिणी सहर ओलेस्कीबाट नागरिकहरूलाई सुरक्षित निकाल्न युक्रेन र रुसको संयुक्त टोली सफल भएको थियो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेका थिए । गत फेब्रुअरीमा रोकिएको शान्ति वार्तालाई निरन्तरता दिन युक्रेन, रुस र अमेरिकाका टोलीहरू आगामी केही दिनभित्र पुनः वार्तामा बस्ने तयारीमा छन्।
पश्चिमी देशहरूले आपूर्ति गर्ने मिसाइल प्रतिरक्षा प्रणाली (इन्टरसेप्टर) युक्रेनसँग लगभग सकिएपछि मस्कोले आफ्ना आक्रमणहरू तीव्र पारेको छ। यद्यपि, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने अपेक्षा गरिएको वार्ताबाट कुनै ठूलो राजनीतिक प्रगति हुने सम्भावना भने न्यून देखिन्छ।





प्रतिकृया दिनुहोस